सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक भैँसीपालन

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०४:१६ खबर संवाददाता

काम खोज्दै विदेश गएका र धेरै पढेपछि जागिर नै खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई तनहुँका एक युवाले गतिलो सन्देश दिएका छन्। सूचना प्रविधि शिक्षा (आइटी) मा स्नातकोत्तर पास गरेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन्।    

आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बनेका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आएका थिए। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लागेका हुन्। कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिव पनि छन्।

उनले भने, “सानै उमेरदेखि पशुपालनतर्फ रुची भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र केही समय जागिर पनि खाएँ। तर, पढ्दैमा जागिर खानुपर्छ भन्ने होइन।” ‘पढेर केही गर्नुपर्छ भन्ने मान्यताका साथ यो पेशातर्फ लागेको हुँ।’ उनले गुँदी गाउँबाट दमौली शहर झरेको झण्डै १२ वर्षपछि पुनः गाउँ फर्किएकाले फार्मको नाम नै गाउँ फर्क कृषि उद्यम प्रालिमा दर्ता गरी व्यवसाय गरेका छन्।

फार्ममा स्थानीय बाबुराम ढकाल र पन्थ दुई जना मिलेर व्यवसाय सञ्चालन गरेका हुन्। गएको मंसिरमा भारतबाट एक लाख ५० हजार रुपैयाँमा १० दुहुना मुर्रा जातका भैँसी ल्याएर पाल्न थालेको उनले बताए। अहिले दैनिक एक सय लिटर दूध उत्पादन भएको र प्रतिलिटर  एक सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। उत्पादित दूध दमौली बजार क्षेत्रमा सजिलै खपत हुँदै आएको र माग बढिरहेकाले  छिट्टै भैँसीको सङ्ख्या थप्ने  योजना रहेको समेत बताए।

उनले भने, “पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता फार्ममै दूध लिन आउने गरेका छन्।”  फार्म सदरमुकाम दमौलीबाट करीब आठ किलोमिटर उत्तरमा पर्छ। शुरुमा अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याएर बोयर बाख्रा स्रोत केन्द्र बनाउने उद्देश्य रहेको उनले बताए। उनले भने, “बाख्राको खोरको पूर्वाधार बनिनसकेका कारण भैँसीपालन व्यवसायलाई पनि सँगसँगै लैजान लागिएको हो।” 

करीब एक सय ५० क्षमताको बाख्रा खोर निर्माण र फार्मसम्म पुग्ने सडकदेखि फार्मभित्रका शाखा सडक निर्माणकार्य भइरहेको उनले जानकारी दिए। व्यावसायिक पशुपालनका लागि करीब पाँच सय रोपनी जग्गा रहेको छ। फार्म सञ्चालन शुरु गरेदेखि करीब ५० लाख रुपैयाँ लगानी भइसकेको उनले बताए। उत्पादनमूलक बाँझो जग्गा उजाड हुँदै गएको, युवाहरु विदेशिएको अवस्थामा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै केही गरौंभन्ने सोचका साथ आफू पशुपालन व्यवसायमा लागेको उनले बताए।

फार्ममा सात कर्मचारी कार्यरत छन्। गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उनको योजना छ। आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उनले बताए। नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने भनिए पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेश गरेको तीन महिना बितिसक्दा पनि खासै चासो नदेखाएको उनले गुनासो समेत गरे। वडामा उद्योग फार्म सञ्चालन हुँदा गाउँमा रहेका बेरोजगारीलाई रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उन्नन्तिमा टेवा पुग्ने विश्वास लिइएको व्यास–१३ का वडाध्यक्ष लेखबहादुर रानाले बताए।

यसैबीच फार्ममा आउने व्यक्ति तथा समूहका लागि घरबासजस्तै ‘फार्मस्टे’को व्यवस्था गरिने भएको छ। फार्ममा आएका मानिसका लागि बस्ने र खाने व्यवस्था मिलाइने गरी काम अघि बढाइएको छ। आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले पारिवारिक वातावरणमा फार्मस्टेको व्यवस्था गर्न लागिएको अर्का सञ्चालक ढकालले बताए।

फार्मलाई कृषि, शिक्षा र कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्य राखिएको छ। सिटीभिटीबाट मान्यता प्राप्त लिई कृषि शिक्षा र कृषिको प्रयोगशालास्थलका रुपमा विकास गर्ने योजनासहित फार्म सञ्चालन गरिएको सञ्चालक ढकालले बताए।

यस्तै फार्ममा स्थानीय जातका गाई सङ्कलन गरी संरक्षण गरिने भएको छ। गाईको गहुँत सङ्कलन गरी प्रशोधिनमार्फत औषधिका रुपमा विकास गर्ने, पक्षीको रुपमा स्थानीय जातका कुखुरापालन गर्ने, फलफूल खेतीमा कागती, तरकारी खेतीमा मौसमी तथा बेमौसमी अर्गानिक तरकारी उत्पादन गर्ने, मौरी र माछालगायतका व्यावसायिकपालन गर्ने लक्ष्य रहेको सञ्चालकद्वयले बताए।
 

कमेन्ट लोड गर्नुस