नौ वर्षदखि अलपत्र बैतडीको गोइडाखोला पुल
बैतडी: पाटन–पञ्चेश्वर सडक खण्ड जोड्ने गोइडाखोलामा निर्माणाधीन पुलको काम नौ वर्षपछि अन्तिम चरणमा पुगेको छ। उक्त पुल बैतडी को स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली गरी तीन स्थानीय तहलाई जोड्ने सडकको सुरुवाती भागमा पर्छ।
पुल निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता गरिएको थियो। खोलामा पुल नहुँदा विशेषगरी बर्खायाममा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो। हिउँदमा खोलामा पानी कम हुँदा आवतजावत सहज भए पनि वर्षायाममा पानी बढ्दा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको स्थानीयले बताएका छन्।
काठमाडौंस्थित रफिना कन्स्ट्रक्सन ले २०७३ पुस १२ गते पुल निर्माणको ठेक्का लिएको थियो। २०७४ पुस ११ भित्र काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको हो।
सडक डिभिजन कार्यालय बैतडी का सूचना अधिकारी इन्जिनियर कपिलप्रसाद पन्त का अनुसार १५ मिटर लम्बाइको दुई लेनको पुल २ करोड ७० लाख ३४ हजार १३१ रुपैयाँ लागतमा निर्माण भइरहेको छ। उनका अनुसार आउँदो असारसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
निर्माण कम्पनीका तर्फबाट जिम्मेवारी सम्हालेका स्थानीय निर्माण व्यवसायी मदनमोहन विष्ट ले जग्गा मुआब्जासम्बन्धी मुद्दाका कारण निर्माणमा ढिलाइ भएको बताए। मुद्दा फिर्ता भइसकेपछि अहिले निर्माणको काम तीव्र रूपमा अघि बढाइएको उनले जानकारी दिए।
यो सडक खण्डमा दैनिक एक सयभन्दा बढी साना–ठूला सवारीसाधन आवतजावत गर्ने गर्छन्। खोला बढेका बेला सवारी वारपार गराउन नसक्दा यात्रु तथा चालकलाई समस्या हुने गरेको जिप चालक पारस मंगोला ले बताए।
हाल पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय मातहत राखिएको छ। पुल निर्माणको काम भने अघिदेखि नै सुरु भएकाले सडक डिभिजन कार्यालय बैतडी को जिम्मेवारीमै रहेको निमित्त डिभिजन प्रमुख लक्ष्मणदत्त जोशी ले बताए।
उनका अनुसार पुल निर्माणसँगै कालोपत्रे र छेउतर्फ रेलिङ राख्ने कामसमेत गरिनेछ। चालु आर्थिक वर्षभित्र सबै काम सम्पन्न गरी यातायात सञ्चालन सहज बनाउने लक्ष्य रहेको उनले बताए। पटक–पटक म्याद थप गर्दै अन्ततः चालु आर्थिक वर्षको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद तोकिएको कार्यालयले जनाएको छ।