सुदूरपश्चिममा समानुपातिकतर्फ पनि रास्वपा अगाडि
धनगढी: सुदूरपश्चिम प्रदेशका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फ १० क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तीन क्षेत्रमा नेपाली कांग्रेस र तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
प्रत्यक्षतर्फको मतगणना सकिएसँगै अहिले समानुपातिकतर्फको मतगणना जारी छ। प्रदेशभर करिब नौ लाख मत खसेकोमा हालसम्म छ लाखभन्दा बढी मत गणना भइसकेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ सुदूरपश्चिममा रास्वपा सबैभन्दा अगाडि रहेको छ। रास्वपाले दुई लाख ७२ हजार १४७ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ४२ हजार ४५७ मत पाएको छ।
त्यस्तै नेकपा एमालेले एक लाख ९ हजार १९९, नेपाली कम्युनिस्ट पार्टीले ८४ हजार ३४३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३१ हजार ३२७, नागरिक उन्मुक्ति पार्टी नेपालले १९ हजार ३६० र श्रम संस्कृति पार्टीले चार हजार ९३५ मत प्राप्त गरेका छन्। अन्य दलहरूले तीन हजारभन्दा कम मत पाएका छन्।