सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ मा राप्रपाका तीर्थराज चटौत सहित १५ उम्मेदवार को जमानत जफत

२०८२ फाल्गुन २५, ०१:२३ रासस

कञ्चनपुर: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरेका १९ उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको छ।

निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। यस आधारमा ११ राजनीतिक दलका उम्मेदवार र चार स्वतन्त्र उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको हो।

जमानत जफत हुने दलका उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ९९३, जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५ मत प्राप्त गरेका छन्।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८ तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का लोकेन्द्रबहादुर विकले १४३ मत ल्याएका छन्।

उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६० र आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत पाए पनि जमानत जोगाउन सकेनन्।

स्वतन्त्र उम्मेदवारतर्फ वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ तथा हरिशबहादुर भट्टले ४४ मत प्राप्त गरे पनि उनीहरूको जमानत जफत भएको छ।

यस निर्वाचन क्षेत्रमा भने चार उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का बचनबहादुर सिंह ६ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा का माधव पन्तले ६ हजार ३३७ मत ल्याउँदै चौथो स्थान हासिल गरेका छन्।

कञ्चनपुर–२ मा कुल ६५ हजार ३४७ मत खसेको थियो। तीमध्ये ६१ हजार ११७ मत सदर भएको र ४ हजार २३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस