कैलाली ४ मा नेकपाका उम्मेदवारसहित १३ जनाकाे धरौटी जफत
धनगढी: प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी उत्सवसहित तेह्र जना उम्मेदवारको धरौटी जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । कैलाली ४ मा कुल ५८ हजार २८३ मत सदर भएको थियो भने धरौटी जोगाउन पाँच हजार ८२९ मत कम्तिमा ल्याउनुपर्ने थियो । नेकपाका उत्सवले पाँच हजार ६०९ मत मात्रै प्राप्त गरी धरौटी गुमाए ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टी नेपालका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापामगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा माओवादीका भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभास कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा संयुक्तका मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ ।
निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइरालाले २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत पाएका थिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर धरौटी जोगाउन सफल भएका छन् ।