सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन प्रबर्द्धनमा सामाजिक सञ्जालको उपयोग गरिने

२०७६ भदौ ३, ०५:१७ खबर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो।  सोमबार मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत सूचना अधिकारी, प्रवक्ता तथा सामाजिक संजाल हेर्ने अधिकृतसँग मन्त्री भट्टराईले छलफल गरेका थिए।

छलफलमा भएको निर्णयअनुसार अब पर्यटन मन्त्रालय र यस मातहतका निकायले दिनभर भएका महत्वपूर्ण जानकारी तथा विषयलाई सामाजिक संजालबाट सबैले हेर्न सक्ने गरी सार्वजनिक गर्ने छ। दिनभर कार्यसम्पादन भएका विषय कार्यालय सकिनासाथ सार्वजनिक गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। सूचना आदानप्रदानका लागि सामाजिक संजालमा ग्रुपहरु बनाउने निर्णयसमेत भएको छ। साथै सबै निकायले यूट्यूव अकाउण्ट खोलेर भिडियोमार्फत आफ्नो गतिविधि सार्वजनिक गर्ने भनिएको छ।

सो वैठकमा पर्यटनसम्बन्धी विभिन्न निकायका नाममा सामाजिक संजालमा खोलिएका ‘फेक अकाउण्ट’ बारे पनि छलफल भएको थियो। ती अकाउन्टहरु तत्काल बन्द गराउने प्रक्रिया अघि बढाउने मन्त्री भट्टराईले निर्देशन दिएका छन्।मन्त्रालय र मातहतका निकायका सामाजिक संजालको अकाउन्ट भेरिफाइ गराएर फेक अकाउन्ट छुट्याउन मन्त्रालयले पहल गर्ने छ। मन्त्रालयका निकायमा प्रवक्ता तथा सूचना अधिकारी नतोकिएको भए तुरुन्त तोक्नसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन्।

मन्त्रालय तथा मातहतका निकायका वेवसाईट, सामाजिक संजालमा नेपाल भ्रमण वर्षलाई मूख्य रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत गरिएको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस