निकुञ्जबाट हात्ती पसेपछि मरघटिया र वैशाखा शिविरमा जनधनको ठूलो क्षति
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र पाक्दै गरेको गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
शुक्लाफाँटा नगरपालिका–१२ को मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले निरन्तर क्षति पुर्याउँदै आएको छ। मरघटिया शिविरकी देवकी राना र उनका श्रीमान् दानसिंह राना रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाउन सफल भएका छन्। दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठूलो आवाज आएपछि उनीहरू झस्किएर बाहिर निस्किएका थिए।
देवकीका अनुसार घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिराएको थियो। “नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन,” उनले भनिन्। घरमा भर्खरै भित्र्याइएको दुई बोरा चामल, १० किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट गरेको उनले बताइन्।
स्थानीयका अनुसार छावासहितको ठूलो बथान बस्तीमा पसेको थियो। केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुईवटाले घर भत्काएर अन्नपात सखाप पारेका थिए।
वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा व्यापक क्षति पुर्याएको छ। किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन्। “गहुँमा बाला लाग्न थालेको छ, तर हात्तीले पाक्न नदिई खाइरहेका छन्,” उनले भने। उनका अनुसार आफ्नो १० कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ भने आठ किसानको झण्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ। हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन्।
स्थानीय अवज सिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराए पनि प्रभावकारी पहल नभएको गुनासो गरे। “रातभरि त्रासमै बस्नुपरेको छ, कहिले घरमै छिर्छन् भन्ने डर छ,” उनले भने।
निकुञ्जसँग सटिएका यी बस्तीमा हरेक वर्ष बाली पाक्ने समयमा हात्तीको आवतजावत बढ्ने र जनधनको क्षति दोहोरिने गरेको स्थानीयको भनाइ छ। बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। “संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,” उनले भने।
स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती र सायरन जडानलगायतका उपाय अविलम्ब लागू गर्न माग गरेका छन्। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी योजना आवश्यक रहेको उनीहरूको भनाइ छ। समयमै ठोस कदम नचालिए यस्ता घटना दोहोरिँदै जाँदा ठूलो मानवीय क्षति हुन सक्ने जोखिम बढ्दै गएको स्थानीयको चेतावनी छ।