उम्मेदवार नआउँदा दोधारा चाँदनीको बादी बस्तीमा निराशा
दोधारा चाँदनीः मुलुकभर चुनावी चहलपहल बढिरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती भने सुनसान बनेको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउन व्यस्त देखिए पनि गरिबी, अशिक्षा र बेरोजगारीजस्ता समस्याले ग्रस्त बडुवाल टोलको सीमान्तकृत समुदायलाई कसैले प्राथमिकतामा राखेको छैन।
झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यस बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सयभन्दा बढी घरधुरी छन्। भारततर्फ रोजगारी र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका बासिन्दाले चुनावका बेला आफ्ना समस्या सम्बोधन हुने आशा गरेका थिए। तर उम्मेदवारहरू भोट माग्नसमेत बस्तीमा नपुगेपछि उनीहरू निराश बनेका छन्।
स्थानीय बिरभाने वादी भन्छन्, “अहिलेसम्म हाम्रो बस्तीमा कोही नेता भोट माग्न आएका छैनन्। जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ, तर नेता नआउँदा हाम्रो माग राख्नै पाएनौँ।”
भारतसँग सीमा जोडिएको यस बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतंक, बाढी र कटान, सुकुम्बासी समस्या, अवैध तस्करी तथा सीमा विवादजस्ता समस्या प्रमुख छन्। स्थानीय सीता बादीका अनुसार उम्मेदवारहरू बस्तीमा आएको भए आफ्ना पीडा सुनाउने अवसर मिल्थ्यो। “हाम्रो समस्या धेरै छन्, तर भोट माग्न कोही आएनन्,” उनले भनिन्, “सीमामा बसेर अनेक समस्या सहनुपरेको छ।”
स्थानीय रेशम बादीले आर्थिक अभावका कारण बालबालिका पढाइ छोडेर भारत रोजगारीका लागि जान बाध्य भएको बताए। “नेताहरू आउलान् र आफ्ना माग राखौँला भन्ने थियो, तर कोही आएनन्,” उनले गुनासो गरे।
राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा बादी समुदायको जनसंख्या २ हजार ५८० जना छ भने कञ्चनपुरमा मात्र ४५८ जना छन्। गरिबी, भूमिहीनता र अशिक्षाका कारण यस समुदायको अवस्था अझै दयनीय बनेको छ।