आज मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध
धनगढीः आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि लागू हुँदैछ। मौन अवधि सुरु भएसँगै कसैको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न तथा भोट माग्न निषेध हुनेछ।
यसअघि आज दिनभर राजनीतिक दल र उम्मेदवारहरू अन्तिम चरणका चुनावी सभा तथा प्रचार–प्रसारमा व्यस्त देखिएका छन्। मौन अवधि आज राति १२ बजेदेखि सुरु भई मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म लागू रहनेछ।
किन लागू गरिन्छ मौन अवधि?
मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद, झडप वा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय प्रचलनअनुसार शान्त र सुरक्षित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गर्न मौन अवधि लागू गरिन्छ। यसले उम्मेदवारहरूबीच स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्नुका साथै मतदातालाई दबाब र प्रभावबाट मुक्त राख्ने अपेक्षा गरिन्छ।
यदि मौन अवधि नहुने हो भने मतदानको अघिल्लो समयसम्म प्रचार–प्रसार जारी रहँदा मतदातालाई प्रभावित पार्ने जोखिम बढ्ने आयोगको भनाइ छ।
निर्वाचन आचारसंहिताअनुसार दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने तथा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार गर्न नपाइने व्यवस्था छ। मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल र उम्मेदवारलाई निर्देशन दिनेछ।
के गर्न पाइँदैन?
मौन अवधिमा कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न निषेध छ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न पाउने छैनन्। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोष्ट, सेयर वा प्रकाशन गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।