खाडी मुलुक र इजरायलका लागि श्रम स्वीकृति अस्थायी रूपमा बन्द
काठमाडौँः सरकारले खाडी मुलुकहरू तथा इजरायलका लागि श्रम स्वीकृति दिन अस्थायी रूपमा रोक लगाएको छ। वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार पछिल्लो क्षेत्रीय तनावका कारण रोजगारीका लागि ती देश जाने नेपाली युवायुवतीलाई हाल श्रम स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको हो।
खाडी क्षेत्रमा बढ्दो असुरक्षा र उडान अवरुद्ध भएपछि यस्तो कदम चालिएको जनाइएको छ। ती देशका विमानस्थलहरू प्रभावित हुनुका साथै इरानबाट जारी आक्रमणका कारण हवाई सेवा नै अवरुद्ध भएको प्रवक्ता शिवाकोटीले जानकारी दिए। उनका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले ट्राभल एड्भाइजरी जारी गरिसकेका छन्।
‘उडानहरू स्थगित छन्, त्यसैले अहिले श्रम स्वीकृतिको टोकन लिइसकेकालाई पनि पर्खन आग्रह गरेका छौं,’ उनले भने।
स्थिति सामान्य भई उडान सेवा पुनः सञ्चालनमा आएलगत्तै आवश्यकताअनुसार श्रम स्वीकृति दिने व्यवस्था गरिने विभागले जनाएको छ।
हाल विशेष गरी यूएई, कतार, साउदी अरेबिया, ओमान, कुवेत र बहराइनलगायत खाडी मुलुकमा इरानद्वारा मिसाइल आक्रमण भइरहेकाले त्यहाँका विमानस्थलहरू बन्द छन्। यसका कारण नेपालबाट ती देशतर्फ जाने तथा आउने सबै उडानहरू रद्द भएका छन्।