सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरान–अमेरिका–इजरायल तनाव चर्किँदै: दोहा र दुबईमा आइतबार पनि सुनिए विस्फोटका आवाज

२०८२ फाल्गुन १७, ०१:०१ खबर संवाददाता

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको दोस्रो दिन खाडी क्षेत्रका केही मुलुकमा पनि हमला भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान संयुक्त अरब इमिरेट्स ९यूएई० र कतारका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्।

सिएनएनले आफ्ना संवाददातालाई उद्धृत गर्दै यूएईको दुबई र कतारको दोहामा ताजा विस्फोटका आवाज सुनिएको जनाएको छ। दुबईमा बिहान ८:१५ बजे र दोहामा करिब साढे ७ बजे लगातार विस्फोट भएको उल्लेख गरिएको छ।

हमलाबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति पुगेको र चार जना घाइते भएको जनाइएको छ। आक्रमणपछि विमानस्थलमाथि बाक्लो धुवाँ देखिएको र घटनास्थलमा एम्बुलेन्स परिचालन गरिएको बताइएको छ। संसारकै व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि बन्द रहेको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट शनिबारदेखि प्रहार गरिएका १९५ ड्रोन निस्तेज पारिएको छ भने १४ वटा ड्रोन जमिनमा खसेर केही भौतिक क्षति भएको छ।

यसैबीच, आइतबार बिहान इरानले इजरायलमा पनि मिसाइल हमला गरेको छ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)का अनुसार इरानबाट प्रहार गरिएका मिसाइलहरू इसराइली आकाशमा देखिएका थिए। हमलापछि विभिन्न इसराइली सहरहरूमा साइरन बजाइएको र नागरिकका मोबाइलमा सुरक्षा सतर्कता सन्देश पठाइएको जनाइएको छ।

यसअघि शनिबार अमेरिका र इजरायलले इरानमा संयुक्त हमला गर्दा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको दाबी गरिएको थियो। त्यसको प्रत्युत्तरस्वरूप इरानले अमेरिका र इजरायललाई मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी पुनः आक्रमण सुरु गरेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस