सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बिच्छयाँमा ‘नो भोट, नो टावर’ अभियानः सडक र सञ्चारको मागमा स्थानीय एकजुट

२०८२ फाल्गुन १७, ११:१३ खबर संवाददाता

बाजुरा: बाजुरा जिल्लाको सर्वाधिक विकट क्षेत्र बिच्छयाँका बासिन्दाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि उम्मेदवारसँग सडक र फोन टावर निर्माणको माग गरेका छन्। गाउँमा चुनावी प्रचारका लागि आउने उम्मेदवार र राजनीतिक दलसँग उनीहरू एकमत भएर प्रत्येक वडामा सडक र फोन टावर निर्माण गर्न आग्रह गरिरहेका छन्।

हिमाली गाउँपालिका–१, २ र ३ ९साविक बिच्छयाँ गाविस० अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेका छैनन्। बिच्छ्याँको नेटामा फोन टावर रहे पनि टाढाका गाउँहरू अझै टेलिफोन सेवाबाट वञ्चित छन्। विगतदेखि नै सडक र सञ्चार टावरको माग उठाउँदै आए पनि दलहरूले पूरा नगरेको स्थानीयको गुनासो छ।

हिमाली गाउँपालिका–३ बौडीका ध्यानबहादुर रोकायाका अनुसार यसपटक पनि मुख्य माग सडक र फोन टावर नै रहेको छ। बिच्छयाँले बाजुराको कुल भूगोलको करिब ३५ प्रतिशत क्षेत्र ओगटेको छ। एउटा गाउँबाट अर्को गाउँ पुग्न एक दिनभन्दा बढी समय लाग्ने अवस्था छ। हुम्ला सीमासम्म अस्थायी सडक सञ्चालन भए पनि बिच्छयाँका कुनै पनि वडामा सडकको पहुँच पुगेको छैन।

स्थानीय साजन बुडथापाले भने, “हाम्रो मुख्य माग सडक हो। सडक नहुँदा धेरै दुःख पाइरहेका छौं।”

हिमाली गाउँपालिका–३ को गुम्बा गाउँ अझै टेलिफोन सेवाबाट वञ्चित छ। स्थानीयले ‘नो भोट, नो टावर’ अभियान नै अघि सारेका छन्। जगत लामाले भने, “हाम्रो गाउँमा टावर छैन। टावर नबने भोट पनि नदिने भन्ने सहमति भएको छ। सबै उम्मेदवारसँग फोन टावरको विषयमा कुरा राखेका छौं। सडक तत्काल सम्भव नदेखिए पनि कम्तीमा टावर निर्माण गरिदिन आग्रह गरेका छौं।”

हिमाली गाउँपालिका–१ मा ६७१, वडा–२ मा ६५७ र वडा–३ मा ५५१ मतदाता छन्। वडा–१ र ३ मा दुई–दुई मतदान केन्द्र तथा वडा–२ मा एक मतदान केन्द्र कायम गरिएको छ। गुम्बा गाउँबाहेक अन्य ठाउँमा भने विद्युत सेवा पुगेको छ। एक वर्षअघि कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले करिब १४ करोड रुपैयाँ लगानीमा बिच्छयाँमा विद्युत विस्तार गरेको थियो।

साविक बिच्छयाँ गाविस सडक, शिक्षा, स्वास्थ्य र सञ्चार पूर्वाधारबाट अझै वञ्चित छ। वडा–३ का अध्यक्ष मंगलबहादुर बुढाले भने, “यातायात सुविधा भएको भए धेरै बिरामीले समयमै उपचार पाउँथे। बाटोमै ज्यान जाने समस्या अन्त्य हुन्थ्यो।”
 

कमेन्ट लोड गर्नुस