सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा क्षेत्रमा गिद्धका गुँड अनुगमन सुरु

२०८२ फाल्गुन १६, ११:१५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको दोस्रो चरणको अनुगमन सुरु गरिएको छ। नेपाल पन्छी संरक्षण सङ्घ ले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे अद्यावधिक जानकारी संकलन गर्न टोली परिचालन गरेको हो।

सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार निकुञ्जका तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायत स्थानमा अनुगमन टोली खटाइएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको छ।

यसअघि सुदूरपश्चिममा गत जनवरीमा पहिलो चरणको अनुगमन सम्पन्न गरिएको थियो, जसमा १२० वटा गुँड अभिलेख भएका थिए। दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। गिद्धको समग्र सङ्ख्या पनि विगतको तुलनामा क्रमशः वृद्धि हुँदै गएको जनाइएको छ।

कञ्चनपुर क्षेत्रमा डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध र हिमाली गिद्धलगायत प्रजाति पाइन्छन्। तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न सूचीमा पर्छ भने अन्य केही प्रजाति पनि सङ्कटापन्न वा जोखिमको अवस्थामा छन्।

प्रकृतिको कुचिकारका रूपमा परिचित गिद्ध संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुखको संरक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेका छन्। गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण र पशु औषधि पसलको नियमित अनुगमनले संरक्षण प्रयासमा सकारात्मक प्रभाव पारेको बताइएको छ।

कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गुँड अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ। तेस्रो चरणको अनुगमन आगामी मार्चमा गरिने योजना रहेको छ।
 

कमेन्ट लोड गर्नुस