प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै कञ्चनपुरमा ड्रोन र मदिरा प्रयोगमा प्रतिबन्ध
कञ्चनपुरः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरमा ड्रोन प्रयोगमा रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार अनुमति लिएर सञ्चालनमा रहेका सबै ड्रोन फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म उडाउन पाइने छैन। नियमविपरीत ड्रोन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिएका छन्।
निर्वाचन हुनुभन्दा तीन दिनअघि देखि मतदान प्रक्रिया सकिनेसम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको प्रशासनले स्पष्ट पारेको छ।
त्यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर जिल्लामा मदिरा बिक्री, वितरण तथा सेवनमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचनका क्रममा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख गर्दै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।