स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’
काठमाडौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताए। आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति थियो। आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए। सात सय ५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च गराउन अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गरिएको कूटनीतिक नियोगका अधिकारीलाई जानकारी गराए।
कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन तयारीका विषयमा प्रस्तुति दिएका थिए। सो अवसरमा आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो।