सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि,सतर्कता अपनाउन आग्रह

२०८२ फाल्गुन १४, ०८:४७ रासस

कञ्चनपुरः कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ। केही समययता व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा रातो र नीलो धब्बा देखिने तथा अचानक मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोगको संक्रमण प्रमाणित भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली ९आरआरटी० परिचालन गरी स्थानीय तहबाट नमूना सङ्कलन गरेको थियो। प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि नमूना थप परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो। त्यहाँ ‘पिसिआर’ विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार हालसम्म धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रका किसानले पालेका बङ्गुरमा संक्रमण देखिएको छ।

“रोग प्रारम्भिक चरणमै छ। समयमै जैविक सुरक्षा अपनाइएन भने ठूलो आर्थिक क्षति हुन सक्छ,” जोशीले भने, “संक्रमण फैलिन नदिन सम्बन्धित फार्मधनीलाई सचेत गराएका छौँ र उच्च सतर्कता अपनाउन आग्रह गरेका छौँ।”

अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जंगली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त सङ्क्रामक र घातक रोग हो। संक्रमित बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्ने भएकाले यसलाई पशु स्वास्थ्य क्षेत्रमा गम्भीर महामारीका रूपमा लिने गरिन्छ। संक्रमण फैलिएमा पूरै बथान नै नष्ट हुने जोखिम रहने विज्ञहरू बताउँछन्।

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार संक्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, दाना–पानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छटपटाउने लक्षण देखिन्छन्। कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो धब्बा देखिनु यस रोगको प्रमुख संकेत हो। साथै नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, पखाला लाग्ने र हिँड्दा धरमराउने जस्ता लक्षणसमेत देखिने उनले बताए।

यो रोग मानिसमा नसर्ने भए पनि यसले बङ्गुरपालक किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याउने खतरा रहेको चिकित्सकहरूको भनाइ छ।

कुनै स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखिएमा वा धमाधम मर्न थालेमा ढाकछोप नगरी नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा तत्काल सम्पर्क गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस