धनगढीको सिप तथा रोजगार मेला: तालिमकै क्रममा १४५ कामदारको माग
धनगढी: धनगढीमा एक महिनादेखि सञ्चालन भएको प्रदेशस्तरीय सिप तथा रोजगार मेला सम्पन्न भएको छ। माघ ५ गतेदेखि सुरू भएको सिप तथा रोजगार मेला फागुन १३ गते समापन भएको हो।
समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाले उक्त मेलाले बेरोजगार युवायुवतीलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पुर्याउने बताएकी छन्।
उनले तालिम प्राप्त गरेपछि त्यसलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। गत वर्ष सञ्चालन गरिएको यस्तै मेलाबाट पनि धेरै युवायुवती स्वरोजगार बन्न सफल भएको उनको भनाइ थियो।
उपप्रमुख रानाका अनुसार मेलामार्फत २२ वटा विभिन्न विषयमा सीपमूलक तालिम प्रदान गरिएको थियो। यस वर्ष सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ८४ पालिकाका करिब ६०० युवायुवतीले तालिम लिएका छन्।
कार्यक्रममा उनले तालिमबाट प्राप्त सिपको सही सदुपयोग गर्दै आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न सहभागी युवायुवतीलाई आग्रह गरिन्। 'सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिकाको गौरवको योजना हो, यो कार्यक्रममा दुई तिहाइ महिलाहरूको सहभागिता छ,' उनले भनिन्, 'युवाहरूलाई स्वदेशमै रोक्न र रोजगारी दिन र स्वरोजगार बन्न तालिमले सहयोग गरेको छ। यो कार्यक्रमलाई उपमहानगरपालिका हरेक वर्ष निरन्तरता दिनेछ।'
उपप्रमुख रानाका अनुसार गत वर्ष एक हजार ४० जनालाई आठ बिधामा २९ किसिमको तालिम प्रदान गरिएकोमा यो वर्ष ६ सय जनलाई सात विधामा २२ किसिमको तालिम प्रदान गरिएको हो। उनले धनगढी उपमहानगरपालिकाले हरेक वर्ष पाँच सय योजना कार्यान्वयन गर्दै आएको बताउँदै सिप तथा रोजगार मेलाले युवाहरूलाई उद्यमशील र रोजगार प्रदान गर्न सहयोग गर्ने बताइन्। 'यो तालिमले युवाहरूलाई सिपयुक्त बनाउँदै गरेर खाने बनाउनेछ भन्ने हाम्रो अपेक्षा छ। यो मान्छे बनाउने योजना हो, धनगढी उपमहानगरपालिकाले नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बोलेको काम पूरा गर्दै आएको छ,' उपप्रमुख रानाले भनिन्।
रोजगारदाताबाट १४५ जना कामदारको माग
सिप तथा रोजगार मेलाकै दौरान विभिन्न विधाका १४५ जना कामदारको माग आएको छ। रोजगार संयोजक चन्द्र महराका अनुसार ३० दिनको तालिम पश्चात् आयोजित रोजगार मेलामा रोजगारदाताबाट १४५ जनाको माग आएको हो। जसमध्ये १३६ जनाले रोजगारीका लागि अन्तर्वार्ता दिएको र २१ जना छनोट भइसकेको महराले बताए।
सिप तथा रोजगार मेलामा सहभागी ६ सय प्रशिक्षार्थी मध्ये स्वरोजगार हुन चाहने २१६ जनालाई पाँच दिने उद्यमशीलता विकास तालिम दिइएको महराले बताए। यस्तै, २२३ जना पाँच दिने रोजगार परामर्श कार्यशालामा सहभागी भएको रोजगार संयोजक महराले बताए।
'यो वर्ष तालिमकै दौरान १४५ जनाको माग आएको छ।दुई दिन चलेको रोजगार मेलाबाट १३६ जनाले रोजगारीका लागि अन्तर्वार्ता दिएर २१ जना छनोट भएका छन्,' उनले भने, 'प्लम्बिङ, वेल्डिङ इलेक्ट्रिसियन र फर्निचरको तालिम भने धनगढी भोकेसनल स्कुलमा चल्नेछ।'
उक्त मेला युवायुवतीको क्षमता विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा प्रभावकारी बनेको उपमहानगरपालिले जनाएको छ।