सुदूर नेपाललाई विश्वसँग जोड्दै

 मणिका धाममा पहिलोपटक नियमित विद्युत् सेवा

२०८२ फाल्गुन १३, १०:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ अन्तर्गत पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र मुडका स्थित मणिका धाममा पहिलोपटक नियमित विद्युत् सेवा विस्तार गरिएको छ। यसअघि विद्युत् अभावका कारण भक्तजनले अँध्यारोमै पूजाआराधना गर्नुपर्ने बाध्यता थियो।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब ६५ लाख रुपैयाँको लागतमा मुडकादेखि धारापानीसम्म झण्डै पाँच किलोमिटर क्षेत्रमा ८२ वटा पोल जडान गरी ट्रान्सफर्मर स्थापना गरेको हो। पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने तथा ट्रान्सफर्मर राख्ने सम्पूर्ण कार्य ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको जनाइएको छ।

विद्युत् सेवा विस्तार भएसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर र आसपासका क्षेत्रमा बल्ब जडान गरिएपछि धाम क्षेत्र झिलीमिली बनेको छ। साँझपख पूजा, आरती तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न पहिले जस्तो कठिनाइ अब नरहेको स्थानीयवासी बताउँछन्।

वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधिलाई सहज बनाएको बताए। उनका अनुसार अँध्यारोका कारण भक्तजनले भोग्दै आएको समस्या अब अन्त्य भएको छ। धाम क्षेत्रका पूर्वअध्यक्ष भरतबहादुर ऐरले विद्युत् सेवा पुगेपछि सत्सङ्ग, भजनकीर्तन तथा अन्य धार्मिक कार्यक्रम रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने उल्लेख गरे।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला ९जाँत० लाग्ने गर्छ। यस वर्ष फागुन १३ र १४ गते मेला आयोजना हुँदैछ। बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने जनविश्वासका कारण नेपाल र भारतका हजारौँ श्रद्धालु यहाँ पुग्ने गर्दछन्।

विद्युत् सेवा विस्तारसँगै मणिका धामको आकर्षण अझ बढेको छ। उज्यालो वातावरणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ भने यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ। साथै, स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
 

कमेन्ट लोड गर्नुस