कञ्चनपुरको शुक्लाफाँटामा पर्ने स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण
कञ्चनपुर: जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ। चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो।
नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ। ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम अघि बढाइएको छ।
उनका अनुसार वडा नम्बर १ मा १२५ मिटर, वडा नम्बर १२ मा १२५ मिटर, वडा नम्बर ५ मा ८० मिटर र वडा नम्बर ६ मा ८० मिटर तटबन्ध निर्माण भइरहेको छ। निर्माणको जिम्मा न्यू बम्बादेवी प्रालिलाई दिइएको छ। हाल निर्माण तीव्रगतिमा सञ्चालन भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
'एक महिनाभित्र तटबन्ध निर्माण सम्पन्न हुन्छ,' उनले भने, 'तटबन्ध निर्माणपछि नदीले गर्दै आएको भूक्षय नियन्त्रण हुनुका साथै बस्ती र कृषियोग्य जमिन जोगाउन सहयोग पुग्नेछ।' स्याली नदीले बर्सेनि वर्षायाममा बहाव बढाउँदा तट क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको छ। विशेषगरी वडा नम्बर १, ५, ६ र १२ का विभिन्न टोल उच्च जोखिममा पर्दै आएका थिए।
नगरपालिकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमै तटबन्ध निर्माण अघि बढाएको जनाएको छ। यसबाट बस्ती संरक्षण, कृषि उत्पादनको सुरक्षा तथा दीर्घकालीन रूपमा नदी व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले तटबन्ध निर्माण सुरु भएपछि राहत महसुस गरेको बताएका छन्। वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्न समयमै काम सुरु हुनु सकारात्मक भएको उहाँहरूकोे भनाइ छ।