सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा संयुक्त सुरक्षा गस्ती सुरु

२०८२ फाल्गुन १२, ११:२७ रासस

दार्चुलाः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा तीनवटै सुरक्षा निकायले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सुरक्षा सक्रियता बढाइएको हो।

जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र रहेका छन्। ती स्थानको अनुगमन तथा मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले नियमित जाँच, इजाजतप्राप्त हतियार सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार अनुगमन तथा बरामद मदिरा नष्ट गर्ने कार्य गरिरहेका छन्। साथै मतदानस्थलहरूको नियमित निरीक्षण भइरहेको जनाइएको छ।

सुरक्षाको अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेकाले आवश्यक समन्वय र निर्देशन दिन वैकुण्ठप्रसाद अर्याल दार्चुला पुगेका थिए।

नौगाड गाउँपालिका–१ नागुका केही स्थानीयले ‘नो भोट’ घोषणा गरेपछि त्यहाँ शान्तिपूर्ण मतदान कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको प्रजिअ पौडेलले बताए। उनका अनुसार हालसम्म नागुका केही स्थानीय मतदानका लागि तयार छैनन् भने व्यास गाउँपालिका–२का स्थानीय मतदानमा सहभागी हुन सहमत भएका छन्।

निर्वाचनका लागि जिल्लामा ८५६ जना कर्मचारी खटाइएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको अन्तिम सूची प्रकाशन गरिसकेको छ। सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार प्रत्येक मतदान केन्द्रमा बढीमा छ जनासम्म कर्मचारी परिचालन गरिनेछ भने दुई अस्थायी मतदान केन्द्रमा तीन–तीन जना कर्मचारी रहनेछन्।

जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीका अनुसार फागुन १३ र १४ गते कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा खटाउने तयारी छ। पहिलो चरणमा अपिहिमाल, व्यास, मार्मा, लेकम र नौगाड गाउँपालिकाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन हुनेछ। दोस्रो चरणमा महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन र दुहुँ गाउँपालिकाका मतदान केन्द्रका लागि तालिम दिइनेछ।

दार्चुलामा प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष गरी कुल ९२ हजार ९४८ मतदाता रहेका छन्।
 

कमेन्ट लोड गर्नुस