सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीमा अभिभावकको चन्दाबाट शिक्षकलाई पारिश्रमिक

२०८२ फाल्गुन १२, ११:१४ रासस

भजनी: भजनी नगरपालिका–७का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गर्दै आएका छन्। वडास्थित श्री हलौना बाबा आधारभूत विद्यालयमा कार्यरत लोनियाले वार्षिक रु २०–२५ हजार पारिश्रमिक पाउने गरेका छन्।

उनको पारिश्रमिक अभिभावकहरूले स्वःस्फूर्त रूपमा सङ्कलन गरेको चन्दाबाट जुटाइने गरिएको हो। उक्त रकम निश्चित हुँदैन। अभिभावक, समाजसेवी तथा स्थानीयले जति रकम सङ्कलन गर्छन्, त्यही आधारमा पारिश्रमिक उपलब्ध हुन्छ। आर्थिक अवस्था कमजोर रहेका बालबालिका अध्ययनरत विद्यालयमा शिक्षक अभाव भएपछि विद्यालय व्यवस्थापन समितिले चन्दा सङ्कलन गरी पारिश्रमिक दिने निर्णय गरेपछि लोनियाले आफ्नो अध्ययनसँगै अङ्ग्रेजी विषय अध्यापन सुरु गरेका हुन्।

“विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक जनशक्ति कम छ। पठनपाठनमा समस्या भएपछि चन्दा सङ्कलन गरेर पारिश्रमिक दिने निर्णय गरियो र त्यसपछि मैले अध्यापन सुरु गरेको हुँ,” लोनियाले भने, “न्यून पारिश्रमिक भए पनि आफ्नै गाउँका बालबालिका पढ्ने विद्यालय भएकाले समितिको निर्णय स्वीकार गरेर काम गरिरहेको छु।” उनका अनुसार बालबालिकाले शिक्षाको अभावमा अघिल्लो पुस्ताले भोगेको कठिन जीवन दोहोर्याउन नपरोस् भन्ने उद्देश्यले आफूले पैसाभन्दा सेवाभावलाई प्राथमिकता दिएका छन्। कक्षा १२ सम्म अध्ययन गरेका लोनिया उक्त गाउँबाट त्यहाँसम्म अध्ययन गर्ने थोरैमध्ये एक हुन्।

थारु समुदायको बाहुल्यता रहेको काँढा गाउँका अधिकांश नागरिक कृषि तथा ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका छन्। शिक्षाप्रति सचेतना कम रहेको लोनियाको भनाइ छ। “यहाँ पढाइप्रति चासो कम छ। सबैलाई जीविकोपार्जनकै चिन्ता हुन्छ,” उनले भने, “त्यसैले बालबालिकालाई पढाइमा लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको छु।” हाल उनले अङ्ग्रेजी तथा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय दैनिक छ घन्टी अध्यापन गर्दै आएका छन्।

विद्यालयमा हाल १७१ विद्यार्थी अध्ययनरत छन्। कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा लोनियाबाहेक छ जना शिक्षक कार्यरत छन्। तीमध्ये दुई जना बालविकास, दुई जना प्राथमिक तह स्थायी, एक जना राहत दरबन्दी र एक जना नगर अनुदानका शिक्षक छन्। विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक अभाव रहेकाले स्थानीयले चन्दा सङ्कलन गरेर लोनियालाई जिम्मेवारी दिएको प्रधानाध्यापक महेश्वरी ओझाले बताइन्।

विद्यालयसँग आम्दानीको स्थायी स्रोत छैन। तीन कट्ठामा सीमित विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा भए पनि स्थानीयले अतिक्रमण गरी वर्षौँदेखि भोगचलन गर्दै आएका छन्। विसं २०६३ मा स्थापना हुँदा उक्त जग्गा अतिक्रमण हटाई विद्यालयको आम्दानीमा जोड्ने निर्णय भई हस्तान्तरणसमेत गरिएको थियो। तर पुनः अतिक्रमण भएपछि विद्यालय आर्थिक समस्यामा परेको प्रधानाध्यापक ओझाको भनाइ छ।

“हामीसँग भएको सबै जग्गा उपयोग गर्न पाएको भए विद्यालयको सामान्य खर्च तथा एक जना शिक्षकको पारिश्रमिक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्थ्यो,” उनले भनिन्, “सञ्जय सरले न्यून पारिश्रमिकमा दिनभर अध्यापन गरिरहेको देख्दा सम्मान जाग्छ। उहाँको इमान्दारिता प्रशंसनीय छ।”

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले विद्यालयहरूमा शिक्षक व्यवस्थापन असन्तुलित रहेको बताए। “हालैको अनुगमनमा कतै विद्यार्थीको अनुपातमा शिक्षक बढी र कतै शिक्षक अभाव देखिएको छ,” उनले भने, “आगामी शैक्षिकसत्रदेखि त्यसलाई व्यवस्थित गर्ने तयारी गरेका छौँ।” अध्ययन अनुमतिपत्र नभएकाले लोनियाको विषयमा तत्काल निर्णय लिन नसकिने उनले स्पष्ट पारे।

शिक्षा अधिकृत पङ्खबहादुर शाहका अनुसार अनुगमनका क्रममा केही शिक्षकले दुई पटकको हाजिर एकैपटक गर्ने र समयअघि विद्यालय छाड्ने जस्ता कमजोरी भेटिएका छन्। ती त्रुटि सुधार गर्न आवश्यक पहल भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस