निर्वाचन सुरक्षाका लागि कैलालीका सीमा नाका तीन दिन बन्द गरिने
धनगढीः आउँदो २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै कैलालीका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन उक्त निर्णय गरिएको जनाएको हो।
कार्यालयका सूचना अधिकारी शिवराज जोशीद्वारा जारी सूचनाअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म कैलालीका सबै सीमा नाका बन्द रहनेछन्।
त्यसैगरी, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, पानीका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण निषेध गरिने उल्लेख गरिएको छ। साथै, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ।