निर्वाचन प्रचारमा भौतिक चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
काठमाडौंः निर्वाचन आयोग नेपालले चुनाव प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक चुनाव चिह्न बोकी हिँड्ने तथा प्रदर्शन गर्ने कार्य नगर्न आग्रह गरेका हुन्।
आयोगका अनुसार त्यस्ता भौतिक चिह्न प्रयोग गर्दा जनसुरक्षामा जोखिम बढेको भन्ने सूचना तथा गुनासाहरू प्राप्त भएका छन्। धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिह्नका कारण समग्र शान्ति सुरक्षामा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।
आयोगले यसको सट्टा कपडा, तुल, फ्लेक्स वा कागजमा चुनाव चिह्न प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार प्रचारप्रसार गर्न सकिने स्पष्ट पारेको छ।
निर्वाचन आचारसंहिताले तोकेबमोजिम दलको झन्डा र स्वीकृत चुनाव चिह्नमार्फत मात्रै प्रचारप्रसार गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै आयोगले आचारसंहिता विपरीत गतिविधि नगर्न सचेत गराएको छ।