सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आउन १० दिन बाँकी, जनप्रतिनिधिलाई प्रचारमा नलाग्न निर्वाचन आयोगको आग्रह

२०८२ फाल्गुन ११, १०:१६ रासस

काठमाडौँ: निर्वाचन आउन अब १० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोग नेपालले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्ने उद्देश्यले आयोगले यस्तो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको उल्लेख गर्दै आयोगले आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ।

आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिता पालना गरे–नगरेको विषयमा अनुगमन भइरहेको छ। केही स्थानीय जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आचारसंहिताको व्यवस्थाअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न भने नपाइने स्पष्ट गरिएको छ।

आयोगले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन स्थानीय कार्यपालिकाका पदाधिकारीलाई सचेत गराएको छ।
 

कमेन्ट लोड गर्नुस