रौतहटको गौरमा भोलि बिहान सद्भाव र्याली निकाल्ने निर्णय
काठमाण्डौ: रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गर्नुभएको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
प्रजिअ भुसालका अनुसार धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिन भोलि बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली निकालिने छ । यस्तै सबै पक्षले शान्तिका लागि सार्वजनिक अपिल जारी गर्ने पनि निर्णय भएको छ ।
सर्वपक्षीय बैठकले शान्तिको आव्हानसहित र्याली निकाल्ने निर्णय गरे पनि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रमा हिजोदेखि लागूभएको कर्फ्यू भने जारी छ । स्थिति अझै संवेदनशील रहेको सुरक्षा विश्लेषणका कारण तत्काल कर्फ्यू हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
सवडढा गाउँमा विवाहमा बजाएको डिजेलाई लिएर बिहिवार राति पौने १० बजेतिर दुई समुदायबीच विवाद शुरु भएकोमा शुक्रवार ६ बुँदे सहमति भएको थियो । तर सहमति विपरीत हिजो पुनः अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले चार किल्ला निर्धारण गर्दै कर्फ्यु आदेश जारी गरेको छ ।