टीकापुरको कार्यबाहक नगर प्रमुखमा रामबहादुर नगार्जी चयन
धनगढी: कैलालीको टीकापुर नगरपालिकाको कार्यबाहक नगर प्रमुखमा रामबहादुर नगार्जी चयन भएका छन्।
नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त रहेपछि बसेको कार्यपालिकाको ६२औँ बैठकले ज्येष्ठ सदस्य नगार्जीलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। १७ सदस्यीय कार्यपालिकामध्ये बहुमत अर्थात् नौ सदस्यको समर्थनमा नगार्जी चयन भएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए।
बैठकमा नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। चयन भएसँगै नगार्जीले आजै पदस्थापनसमेत गरेका छन्।
नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेपछि नगरपालिका नेतृत्वविहीन बनेको थियो। यसअघि उपप्रमुख खडकबहादुर शाह भने जग्गा अनियमितताको अभियोगमा ०८० माघ २५ गतेदेखि निलम्बनमा छन्।