सुदूर नेपाललाई विश्वसँग जोड्दै

एरिष्टो स्कुलको ३३औँ वार्षिकोत्सवमा  ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान

२०८२ फाल्गुन ८, ०८:२१ खबर संवाददाता

धनगढी: धनगढीस्थित एरिष्टो माध्यमिक विद्यालय को ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि डाक्टर धर्मराज उपाध्याय (पूर्व क्याम्पस प्रमुख, कैलाली बहुमुखी क्याम्पस) रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक शान्ति अधिकारीले गरेकी थिइन्।

विशिष्ट अतिथिका रूपमा प्याब्सन कैलालीका अध्यक्ष  ध्रुवबहादुर सिंह, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी तथा शिक्षा क्षेत्रमा ३० वर्ष योगदान दिएका हेमराज अधिकारी उपस्थित थिए।

त्यसैगरी नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्ट, सदस्य कैलाश जोशी, कैलाली विद्या निकेतनका संस्थापक तथा प्रिन्सिपल टोपेन्द्र शाह, थ्रिस्टार स्कुलका प्रिन्सिपल गोपाल शर्मा लगायत अभिभावक, पत्रकार, विद्यार्थी र शिक्षाप्रेमी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर उपाध्यायले विद्यालयले समयअनुकूल र युगले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। प्याब्सन अध्यक्ष सिंहले विद्यालयले धनगढीका अन्य विद्यालयभन्दा फरक पहिचान बनाएको उल्लेख गर्दै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे। वडा अध्यक्ष चौधरीले विद्यालयले समयसापेक्ष शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए।

अध्यक्ष शान्ति अधिकारीले अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको बताइन्। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विशेषगरी एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मानसहित ल्यापटप वितरण गरिएको थियो।

कार्यक्रम विद्यालयका प्रिन्सिपल हरि बुढाक्षेत्री को उपस्थितिमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस