सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा ‘युवा भविष्य’ एजेन्डा: नरनारायण शाहको घरदैलो अभियान तीव्र

२०८२ फाल्गुन ८, ०५:४९ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नर नारायण शाहले घरदैलो अभियान तीव्र बनाएका छन्। नेपाली काँग्रेस का उम्मेदवार शाहले विशेषगरी युवापुस्ताका मुद्दालाई केन्द्रमा राख्दै रोजगारी, सूचना प्रविधि र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन्।

घरदैलो, टोलभेला तथा भेटघाटका क्रममा युवा मतदाताले बेरोजगारी, विदेश पलायन, डिजिटल अवसरको अभाव र लागूपदार्थ दुव्र्यसनजस्ता समस्या उठाइरहेका छन्। कतिपय युवाले असन्तुष्टि र आक्रोशसमेत व्यक्त गरेका छन्। उम्मेदवार शाह भने गुनासा धैर्यपूर्वक सुन्दै 'झुटा वाचा नगर्ने, गर्न सकिने मात्र प्रतिबद्धता गर्ने' अडान दोहोर्‍याउँदै आएका छन्।

उनका अनुसार जेन्जी पुस्ताको आवाजलाई नीतिमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता हो। 'युवालाई विदेश पठाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हो,' उनले बताएका छन्। आधुनिक सूचना प्रविधि पार्क स्थापना गरी युवालाई आईटी, डिजिटल सिप र स्टार्टअपसँग जोड्ने, ‘युथ डाइलग’ तथा ‘इन्नोभेसन प्लेटफर्म’मार्फत युवाका विचारलाई प्रत्यक्ष नीति निर्माण प्रक्रियामा पुर्‍याउने योजना उनले अघि सारेका छन्। साथै, युवा–मैत्री रोजगारी नीति निर्माणका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

युवालाई स्वरोजगार बनाउन तालिम, सीप विकास र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम तीनै तहका सरकारसँग समन्वय गरेर सञ्चालन गर्ने उनको योजना छ। लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि अभिभावक, विद्यालय र प्रशासनसँग सहकार्यमा सचेतनामूलक अभियान चलाउने तयारी पनि उनले व्यक्त गरेका छन्।

यसपटक कैलाली–५ को चुनावी बहस विकाससँगै ‘युवा भविष्य’ वरिपरि केन्द्रित देखिएको छ। पूर्वाधार विकास, स्टार्टअप इकोसिस्टम, स्वरोजगार प्रवर्द्धन, दुर्व्यसन नियन्त्रण र युवा–मैत्री नीति निर्माणका एजेन्डासहित शाह मतदातामाझ पुगिरहेका छन्।

कमेन्ट लोड गर्नुस