सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ: आनन्दबहादुर चन्द

२०८२ फाल्गुन ८, ०१:४४ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले देश विकासका लागि आमूल परिवर्तन अपरिहार्य भएको बताएका छन्।

धनगढी उपमहानगरपालिका–३ मा आयोजित चुनावी प्रचार कार्यक्रममा बोल्दै उनले वर्षौंदेखि भाषण र नारामै सीमित नेतृत्वका कारण देश पछि परेको दाबी गरे। प्राकृतिक स्रोत–साधन प्रशस्त भए पनि तिनको प्रभावकारी उपयोग हुन नसक्नु नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो।

उनले नेताहरूमा विकास गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना अभाव रहेको आरोप लगाए। देशभित्रका नदी, नदीनाला, खनिज, जंगल र भूमि उपयोगको दीर्घकालीन योजना नबन्दा मुलुक अघि बढ्न नसकेको उनले उल्लेख गरे।

चन्दले नेतातन्त्र मौलाउँदा बजेटको सही सदुपयोग हुन नसकेको र आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताए। उनले स्वास्थ्य र शिक्षालाई प्रमुख एजेण्डा बनाएर आफूहरू चुनावमा आएको स्पष्ट पारे।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएकाले शिक्षा र उपचारबाट वञ्चित हुनु नपर्ने व्यवस्था गर्न प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ। साथै, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक सुधार गरिने उनको प्रतिबद्धता छ।

‘हाम्रो भावी प्रधानमन्त्रीले पनि भन्नु भएको छ, जसको खल्तीमा पैसा छैन त्यसले पढ्न पाउनु पर्‍यो । जसको खल्तीमा पैसा छैन त्यसले पनि उपचार पाउनु प¥यो ।’ त्यसका लागि प्रभावकारी स्वास्थ्य बीमालाई प्राथतमिकता दिइने उनले बताए ।

विश्व ‘एआई’ र डिजिटल प्रविधितर्फ अघि बढिसक्दा पनि नेपाल पुरानो शैक्षिक संरचनामै सीमित रहेको उल्लेख गर्दै उनले शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउने लक्ष्य लिएको बताए।

उनले वडा नम्बर ३ मा रहेको डुवान समस्या सम्बन्धित निकायसँग सहकार्य गरी समाधान गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा रास्वपाका नेता हरि रेग्मीले पनि मतदातालाई परिवर्तनको अभियानमा साथ दिन आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस