कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ
कैलालीः जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१३ शिबटोलबाट ३४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २८ वर्षीय सन्तोष राना र २५ वर्षीय प्रदीप रानालाई बिहीबार साँझ पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट संयुक्त रूपमा खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ।
त्यसैगरी, टीकापुर नगरपालिका–७ सुनाफाटाबाट १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय बिरेन्द्र कडायतलाई पनि बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले जाँचका क्रममा उनको साथबाट लागूऔषध बरामद गरेको हो।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।