सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जन्मेका अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक भट्ट नेपाल भ्रमणमा आउँदै

२०८२ फाल्गुन ७, ०५:४३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमको डोटी जिल्लामा जन्मेका अन्तर्राष्ट्रिय खगोल भौतिकशास्त्री डा. गोपाल भट्ट अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि युरोपबाट २० फेब्रुअरीमा नेपाल आउने भएका छन्। उनको भ्रमणले नेपालमा अन्तरिक्ष विज्ञान र अनुसन्धानको क्षेत्रमा नयाँ बहस तथा अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।

डा. भट्ट अन्तर्राष्ट्रिय स्तरमा परिचित खगोल भौतिकशास्त्री हुन्। उनी युरोपका विभिन्न अनुसन्धान संस्थासँग आबद्ध भई ग्रह–नक्षत्र अध्ययन, गहिरो अन्तरिक्ष अवलोकन र आधुनिक टेलिस्कोप प्रविधिमा अनुसन्धान गर्दै आएका छन्। उनका अनुसन्धान कार्यहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नल र सम्मेलनहरूमा प्रस्तुत तथा प्रकाशित भइसकेका छन्। साथै, विकासोन्मुख राष्ट्रहरूमा अन्तरिक्ष अनुसन्धान विस्तार गर्ने अभियानमा डा. भट्ट सक्रिय छन्।

नेपाल भ्रमणका क्रममा डा. भट्टले विभिन्न शैक्षिक तथा वैज्ञानिक कार्यक्रममा सहभागिता जनाउनेछन्। उनी ‘नेपाल पनि अन्तरिक्ष युगतर्फ’ विषयमा विशेष प्रवचन दिने कार्यक्रममा उपस्थित हुने जनाइएको छ। भ्रमणको मुख्य कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पोलिस विश्वविद्यालयको सहकार्यमा नेपालमा टेलिस्कोप जडान योजनामा केन्द्रित रहने छ।

बीपी मेमोरियल अब्जर्भेटरीका कार्यकारी निर्देशक डा. नत शर्मा अनुसार, यस पहलले नेपालमा वैज्ञानिक पूर्वाधार विकास, प्राविधिक दक्षता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

साथै, विद्यालय तथा विश्वविद्यालय स्तरमा खगोल विज्ञान अध्ययन, आधुनिक टेलिस्कोपमार्फत अनुसन्धानको सुरुवात, ‘एस्ट्रो–टुरिज्म’ प्रवर्द्धन, मौसम पूर्वानुमान र विपद् व्यवस्थापनमा अन्तरिक्ष प्रविधिको उपयोग जस्ता क्षेत्रमा फाइदा पुग्ने अनुमान गरिएको छ।

 

कमेन्ट लोड गर्नुस