सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राससको ६५औँ वार्षिकोत्सव सम्पन्न, सत्य र सन्तुलित पत्रकारितामा जोड

२०८२ फाल्गुन ७, ०३:४५ खबर संवाददाता

धनगढीः राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सव समारोह धनगढीमा सम्पन्न भएको छ। स्थानीय सञ्चारमाध्यम तथा रासस सेवाग्राहीहरूको सहभागितामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम राससकर्मी मीन ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

समारोहमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, कैलाली अध्यक्ष श्रवण देउवा, पूर्वअध्यक्ष हिमाल जोशी, प्रदेश महासचिव शिवराज भट्ट, कैलाली सचिव तेज भट्ट, केन्द्रीय सदस्य योगेन्द्र बलायरलगायत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष हिमाल जोशीले कैलालीमा राससको सेवा विस्तार प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले जनताको आवाज केन्द्रसम्म पुर्‍याउन राससले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए। 

कैलाली अध्यक्ष श्रवण देउवाले राससका कारण साना मिडियाले पनि लाभ लिइरहेको उल्लेख गर्दै आगामी निर्वाचनलाई दृष्टिगत गरी सबै राजनीतिक दलप्रति सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे। प्रदेश अध्यक्ष भरत शाहले कुनै दलप्रति झुकाव नराखी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

प्रमुख अतिथि मन्त्री हिरा सिंह सार्कीले राससले जनताको आवाज राज्यसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताए। पत्रकारहरूले सत्यतथ्यमा आधारित समाचार उठान गर्दा सरकारलाई काम गर्न सहज हुने अनुभव आफूले पाएको उनले उल्लेख गरे।

यस्तै प्रत्रकार महासंघका प्रदेश महासचिव शिवराज भट्टले राससले आफ्नो सेवालाई समयअनुकूल परिवर्तन गर्नुपर्ने बताए। उनले समाचारदाता नियुक्तिमा नै समस्या भएकाले सुधारेर अगाडि बढ्नुपर्ने सुझाव दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले मिडिया राज्यको चौथौ अङ्ग भएको बताउँदै सरकारलाई मिडियाले खबरदारी गरेर सहयोग गर्नुपर्ने बताए। उनले मिडियाको खबरदारीलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा वक्ताहरूले ६५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा राससबाट अझ प्रभावकारी, निष्पक्ष र जनमुखी सेवा अपेक्षा गरेको बताएका थिए।

कमेन्ट लोड गर्नुस