बर्दियामा समस्याग्रस्त चितुवा नियन्त्रणमा
बर्दियाः समस्याग्रस्त चितुवालाई डिभिजन वन कार्यालय बर्दिया र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
बारबर्दिया नगरपालिका–१० स्थित महतन्या सामुदायिक वनमा राखिएको खोरमा एक वयस्क पोथी चितुवा फसेको हो। नियन्त्रणमा लिइएको चितुवालाई बर्दिया वन कार्यालयमा राखिएको जनाइएको छ।
यस पालिकामा चितुवाको आक्रमणबाट ६ जनाको ज्यान गएपछि स्थानीयमा त्रास फैलिएको छ। समस्याग्रस्त भाले चितुवाको खोजी भइरहे पनि अझै नियन्त्रणमा नआएको स्थानीयको भनाइ छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार भाले चितुवाको खोजी जारी छ।
डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट बर्दियामा ८ जनाको ज्यान गइसकेको छ। सोही अवधिमा बाघ र हात्तीको आक्रमणबाट थप दुई जनाको मृत्यु भएको जनाएको छ।