आज ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ: शेर्पा समुदायले आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ दिने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ।
पर्वका अवसरमा गाउँघर, टोल तथा बाटोघाटो र पानीका मुहानहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। यसलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ।
नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्पराअनुसार चन्द्रमासको गणनाका आधारमा फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष प्रारम्भ हुने विश्वास गरिन्छ। सोही अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)को मधुर धुन र सामूहिक उत्सवले पर्वलाई थप उल्लासमय बनाउने गर्दछ।
नयाँ वर्षका रूपमा मनाइने यस पर्वले समाजमा आशा, उमङ्ग र उत्साह थप्नुका साथै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना मजबुत बनाउने विश्वास गरिएको छ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता विशेष परिकारको स्वाद लिने र परिवारसँग मिलेर हर्षोल्लासका साथ समय बिताउने परम्पराले यस पर्वलाई मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित गरेको छ।