सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकापुरका प्रवासी युवाद्वारा धनसिंहपुर स्वास्थ्य चौकीलाई मर्चरी च्याम्बर हस्तान्तरण

प्रवासी युवाले किनेका मर्चरी च्याम्वरहरु धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिदैँ । तस्बिर : एकिन्द्र तिमिल्सेना (गाेरखापत्र)
प्रवासी युवाले किनेका मर्चरी च्याम्वरहरु धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिदैँ । तस्बिर : एकिन्द्र तिमिल्सेना (गाेरखापत्र)
२०८२ फाल्गुन ५, ०४:४५ खबर संवाददाता

टीकापुरः कैलालीको टीकापुर नगरपालिका–८ बाट रोजगारीका लागि परदेशमा रहेका युवाहरूले धनसिंहपुर स्वास्थ्य चौकीलाई दुईवटा पार्थिव शरिर राख्ने भाँडो मर्चरी च्याम्बर उपलब्ध गराएका छन् ।

कर्णाली नदीको बाढीबाट प्रभावित हुने यस वडाका हरेकजसो घरबाट युवाहरू रोजगारीका लागि विदेशमा छन् । घरमा कसैको मृत्यु भएमा दाह संस्कार गर्ने युवा परदेशबाट आउन समय लाग्ने भएकाले त्यतिन्जेल लास कुरेर बस्दा अप्ठ्यारो झेलेका नागरिक मर्चरी च्याम्बर पाएपछि खुशी भएका हुन् ।

स्थानीय समाजसेवी पदमराज जोशीले मानिस मरेपछि एकातिर परिवारको रोदन, अर्कोतिर लास कुर्दै आइस खोज्नुपर्ने जस्ता सम्हाल्नै गाह्रो अवस्थाबाट मुक्त भएको बताए। 
यस अघि यहाँ मानिस वितेपछि कुर्नुपर्दा खाल्डो खनेर केराका थामहरू बिछाएर माथिबाट आइसका डल्ला राखेर लास सडनबाट जोगाउने गरेको अर्का स्थानीय टीकाराम चौधरीले बताए। 

प्रवासी युवा दिपक विकले स्थानीय युवाहरूले सहयोग जुटाएर दुईवटा मर्चरी च्याम्बर, एकथान डिस्प्ले बोर्ड  र एक थान प्रोजेक्टर खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराइएकाले यसलाई सबैले सहज रुपमा उपयोग गर्ने व्यवस्था गर्न सुझाव दिए। 

साथै धनसिंहपुरका १५ जना विपन्न परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल तेल लगायतका खाद्यान्न सामग्री पनि वितरण गरिएको छ ।

स्वास्थ्य चौकीका अध्यक्ष दीर्घबहादुर ठकुल्लाले रोजगारीका लागि विदेशिएर पनि आफू जन्मेको माटो र घरलाई सम्झेर सहयोग गर्ने युवाहरु र तिनका परिवारलाई धन्यवाद दिए। यी सामग्रीले टीकापुर नगरपालिका र छिमेकी पालिकालाई  समेतसहयोग पुग्ने ठकुल्लाले बताए।  

अब यो च्याम्बर विद्युत सेवा भएको घरैमा लगेर लास सुरक्षित रुपमा राख्न सकिनेछ । यहाँका ४४ जना परदेशी युवाहरूबाट सङ्कलन भएको चार लाख २५ हजार रूपियाँबाट सामानहरु खरिद गरिएका र १९ हजार रुपियाँ बचत रहेको गोविन्द चौधरीले बताए। कार्यक्रममा आर्थिक सहयोग गर्ने युवा तथा तिनका परिवारलाई दोसल्ला ओडाइ प्रमाणपत्र दिएर सम्मान गरिएको छ । 

विभिन्न देशमा बसोबास गर्ने युवाले पाँच वर्ष अघि स्थापना गरेको धनसिहपुर प्रवासी युवा समितिले २०७८ सालमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । 

टीकापुर अस्पतालबाट १६ किलोमिटर टाढाको धनसिंहपुर स्वास्थ्य चौकीमा रहेको  सो एम्बुलेन्सबाट हालसम्म ४६८ जनाले सेवा लिइसकेका स्वास्थ्य चौकी प्रमुख यमबहादुर शाहले बताए। 
 

कमेन्ट लोड गर्नुस