सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–२ मा औद्योगिक क्षेत्र स्थापनाको माग प्रमुख अजेन्डा, उम्मेदवार गाउँगाउँमा व्यस्त

२०८२ फाल्गुन ५, ०१:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको प्रवेशद्वार मानिने कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा बाहिरबाट हेर्दा चुनावी माहोल शान्त देखिए पनि उम्मेदवारहरू गाउँगाउँ पुगेर घरदैलो, भेटघाट र मत माग्ने अभियानमा सक्रिय छन्। मतदातासँग भेटघाटका क्रममा विभिन्न व्यक्तिगत तथा साझा मागहरू उठिरहेका छन्।

यस क्षेत्रका मतदाताको साझा एजेन्डाका रूपमा वर्षौंदेखि अलपत्र परेको प्रस्तावित डुडेझारी औद्योगिक क्षेत्र निर्माणको विषय अगाडि आएको छ। लम्कीचुहा नगरपालिका–३ मा पर्ने एक हजार ९३ बिघा क्षेत्रफलमा फैलिएको डुडेझारी औद्योगिक क्षेत्र २०७५ सालदेखि संघीय सरकारले अघि नबढाउँदा स्थानीयमा असन्तुष्टि देखिएको छ। प्रारम्भिक अध्ययनअनुसार त्यहाँ ठूला, मझौला र साना गरी ३ सय १७ उद्योग स्थापना हुनसक्ने सम्भावना रहेको बताइन्छ।

स्थानीय बासिन्दाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, शिक्षा सुधार र पूर्वाधार विकासलाई समेत प्राथमिक मागका रूपमा उठाइरहेका छन्। नागरिक अगुवा नरबहादुर रावलले औद्योगिक क्षेत्र स्थापना नै मुख्य सवाल भएको उल्लेख गर्दै सुशासन र भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको बताए। लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले पनि डुडेझारी औद्योगिक क्षेत्र स्थापना, सरकारी शिक्षामा गुणस्तर सुधार, स्वरोजगार प्रवर्द्धन र चिसापानी–कुइने सडक विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

चिसापानीदेखि लम्की हुँदै पहाडी क्षेत्र मोहन्यालसम्म फैलिएको यस क्षेत्रमा पुराना दल र नयाँ शक्तिबीच प्रतिस्पर्धा चर्किएको छ। एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी संगठनका हिसाबले बलिया मानिन्छन् भने नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि आक्रामक रूपमा चुनावी मैदानमा छन्।

एमालेबाट सुर्यबहादुर थापा, काँग्रेसबाट विजय स्वाँर, नेपाली कम्युनिष्ट पार्टीबाट नन्दबहादुर साउँद उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले भ्रष्टाचार नियन्त्रण, सुशासन र युवा स्वरोजगारलाई मुख्य मुद्दा बनाएका छन्। नाउपा नेपालका पतिराम चौधरी पनि थारु समुदायको उल्लेख्य उपस्थितिका कारण बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट साविक नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित भएका थिए। समानुपातिकतर्फ पनि सोही दलले सबैभन्दा बढी मत प्राप्त गरेको थियो। हाल महोन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका समेटिएको यस क्षेत्रमा एक लाख सात हजार ७५५ मतदाता रहेका छन्।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा कैलाली–२ मा विकास, रोजगारी र सुशासन मुख्य बहसका विषय बनेका छन्।

कमेन्ट लोड गर्नुस