धनगढी अवतरण असफल भएपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौं फिर्ता
धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि मध्यरातमा पुनः काठमाडौं फर्किएको छ।
सोमबार राति ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजले धनगढी विमानस्थलमा अवतरणका लागि पटक–पटक प्रयास गरेको थियो। तर अवतरण सम्भव नभएपछि राति करिब १२ बजे जहाज काठमाडौं नै फर्किएको जनाइएको छ।
उडानमा चालक दलका सदस्यसहित ८० यात्रु सवार थिए। जहाज फर्किएपछि केहीबेर विमानस्थलमा यात्रुले असन्तुष्टि जनाएका थिए। सोही उडानमा रहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार अवतरण हुन नसकी जहाज फर्किएपछि यात्रु अलपत्र परेका थिए।
एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता लिन चाहने यात्रुलाई रकम फिर्ता गरिने र यात्रा जारी राख्न चाहनेलाई मंगलबार बिहानको उडानबाट धनगढी पठाइने व्यवस्था मिलाइएको जानकारी दिए।