सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलि ‘परिवर्तन उद्घोष सभा’: बालेन र रविको विशेष सम्बोधन

२०८२ फाल्गुन ५, १०:५४ नारायण अवस्थी

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले माघ ६ गते बुरधवार धनगढीमा परिवर्तन उद्घोष सभा गर्ने भएको छ। रास्वपाले धनगढीमा दुई घण्टाको आमसभा गर्ने तालिका प्रकाशित गरेको छ।

धनगढीमा हुने  रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने तालिका सार्वजनिक भएको छ। जहाँ काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको एकीकृत कार्यक्रम तालिका अनुसार कार्यक्रम बिहान ११:०० बजे सुरु हुनेछ। प्रारम्भमा राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली तथा स्वागत मन्तव्य रहनेछ। त्यसपछि उम्मेदवारहरूको मन्तव्य, सांस्कृतिक प्रस्तुति र हाइप बिल्डअप कार्यक्रम समावेश गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा दिउँसो १२:३० बजे बालेन शाहले १५ मिनेट विशेष सम्बोधन गर्ने तालिका छ भने १२:४५ बजे रवि लामिछानेले १५ मिनेट प्रमुख सम्बोधन गर्ने उल्लेख छ। कार्यक्रम १:०० बजे समापन तथा समूह तस्वीरसहित सम्पन्न गरिनेछ।

आयोजकका अनुसार कार्यक्रम अनौपचारिक तथा उच्च ऊर्जा शैलीमा सञ्चालन गरिनेछ। माघ ६ गते धनगढीमा कार्यक्रम हुने र त्यसपछि क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा समेत कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस