सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३३ ग्राम लागूऔषध सहित दुई जना पक्राउ

२०८२ फाल्गुन २, ०८:३३ खबर संवाददाता

कैलाली: धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी–अत्तरिया राजमार्गको मोहनपुर चोक सडक खण्डबाट ३३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा २३ ग्राम ३४० मिलिग्राम लागूऔषध बरामद गरेको थियो। त्यसपछि धनगढी उपमहानगरपालिका–४ स्थित उनीहरूको डेरा कोठामा खानतलासी गर्दा थप १० ग्राम ३६० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका–६ ऐठपुरका २५ वर्षीय सम्भु भट्ट र जिल्ला बैतडी सिंगास गाउँपालिका–१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान एयरगन, नगद रु ६५,००० र दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ।

बरामद गरिएको लागूऔषध, नगद तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस