सुदूरपश्चिममा वर्षेनी १ हजारभन्दा बढी भ्रष्टाचारका उजुरी, कैलालीबाट सबैभन्दा धेरै
धनगढी: सुदूरपश्चिममा भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दै गएको छ । प्रदेशमा पछिल्ला आर्थिका वर्षहरुमा वर्षेनी १ हजार भन्दा बढी उजुरी पर्ने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका अनुसार १२ वर्षको अवधिमा ११ हजार ९५२ उजुरी दर्ता भएका छन् । जसमध्ये ११ हजार ४०९ उजुरी फस्र्याेट भइसकेका छन् भने ५४३ उजुरी बाँकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले बुधबार ३५ औँ स्थापना दिवसमा अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/७१ मा ७४९, ०७१/७२ मा एक हजार १२६, ०७२/७३ मा ९५८, ०७३/७४ मा ६४४ र ०७४/७५ मा ५८८ उजुरी दर्ता भएका छन । यसैगरी, ०७५/७६ मा ७३४, ०७६/७७ मा ९१२, ०७७/७८ मा ९०७, ०७८/७९ मा ७०७, ०७९/८० मा एक हजार २७३, ०८१/८२ मा एक हजार १९८ र चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म ६८६ उजुरी दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको २६ माघसम्म सबैभन्दा बढी कैलालीबाट २९२ तथा सबैभन्दा कम डडेलधुराबाट ७६ उजुरी दर्ता भएका छन् । यसैगरी, कञ्चनपुरमा १९२, अछाममा १२४, बाजुरामा १२०, बैतडीमा ९५, बझाङमा ८७, दार्चुलामा ८३, डोटीमा ७९ उजुरी दर्ता भएका छन् । चालू आर्थिक वर्षमा ६१० उजुरी फस्र्याेट गरिएकोमा ५३८ अझै बाँकी रहेका छन् ।
अख्तियारको कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हाल जिल्लाबाट ११ मुद्दा विशेष अदालतमा दर्ता गरिएको र १ स्ट्रिङ अपरेसन गरिएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायमा कार्यरत कर्मचारीले नागरिकलाई अख्तियार देखाएर काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचार भएकाले त्यसतर्फ समेत सचेत हुनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा कार्यरत कर्मचारी स्वयं नैतिकवान हुनुपर्ने बताए ।