सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका कलम धामी, विदेश जाने सपना पूरा नहुँदै अस्ताए

२०८२ माघ २९, ०४:५३ खबर संवाददाता

डोटीः डोटीमा घरभित्रै बन्दुक पड्किँदा डोटीका कलम धामीको ज्यान गएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किँदा ३० वर्षीय कलम धामीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार साँझ बन्दुक अचानक पड्किँदा धामीको बाँया कन्चटमा छर्रा लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

अहेव अध्ययन गरेका धामीले बोगटान फुड्सिल गाउँपालिकामा सात वर्ष करारको जागिर खाएका थिए। गत वर्षको असारमा मात्रै व्यापार गर्ने भनेर उनले जागिर छोडेका थिए। धामीले धनगढीको बसपार्क क्षेत्रमा होटेल सञ्चालन गरेका थिए।  होटल व्यवसाय सोचेजस्तो नभएपछि उनी विदेश जाने तयारीमा थिए।

बोगटान फुड्सिलका स्थानीय मीन चन्दका अनुसार धामी युरोप जाने योजनामा थिए।  युरोपको बुल्गेरिया जानका लागि अन्तर्वार्ता दिन धामी भारतको नयाँदिल्ली जाने योजनामा थिए। उनी फागुन १ गते नयाँदिल्ली जान लागेका थिए तर माघ २८ गते नै बन्दुकको गोली लागेर उनको ज्यान गयो।

कमेन्ट लोड गर्नुस