३५ वर्षको सत्ता गणित: काँग्रेस २५ वर्ष सरकारमा, एमाले १७ वर्ष, माओवादी १९ वर्षमा १५ वर्ष सत्तामा
धनगढी: बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको २०४६ फागुन २६ गतेदेखि २०८२ फागुन २१ गतेसम्मको अवधिमा नेपालको केन्द्रीय सत्ता राजनीतिमा प्रमुख दलहरूको सहभागिता रोचक तथ्यांकसहित सार्वजनिक भएको छ। यो अवधि जम्मा १३,१०३ दिन अर्थात ३५ वर्ष ११ महिना २३ दिनको रहेको छ।
उक्त अवधिमा नेपाली कांग्रेस सबैभन्दा लामो समय सरकारमा सहभागी भएको देखिन्छ। कांग्रेस ९,१३९ दिन, अर्थात २५ वर्ष ४ महिना १९ दिन सरकारमा बसेको छ। यस अवधिमा कांग्रेसले १३ पटक आफ्नै नेतृत्वमा सरकार गठन गरेको छ भने ७ पटक अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुँदै कुल २० पटक सरकारमा पुगेको देखिन्छ।
यस्तै, नेकपा एमाले पनि सोही अवधिमा ६,२८६ दिन, अर्थात १७ वर्ष ५ महिना १६ दिन सरकारमा सहभागी भएको तथ्यांकले देखाउँछ। एमालेले ७ पटक सरकारको नेतृत्व आफैंले गरेको छ भने ९ पटक अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुँदै जम्मा १६ पटक सत्ता यात्रामा सहभागी भएको छ।
उता, नेकपा माओवादी केन्द्र भने २०६३ वैशाख १२ गते पहिलो पटक सरकारमा प्रवेश गरेको थियो। सो दिनदेखि २०८२ फागुन २१ गतेसम्मको अवधि ७,२४४ दिन अर्थात १९ वर्ष १० महिना ९ दिनको हुन्छ। यसमध्ये माओवादी ५,३८५ दिन, अर्थात १४ वर्ष ११ महिना १५ दिन सरकारमा सहभागी भएको छ। माओवादीले ४ पटक आफ्नै नेतृत्वमा सरकार चलाएको छ भने ६ पटक अन्य दलको नेतृत्वमा सरकारमा सहभागी हुँदै कुल १० पटक सरकारमा पुगेको देखिन्छ।
यो तथ्यांकले कांग्रेस र एमालेको ३५ वर्ष लामो सत्ता संलग्नता र माओवादीको १९ वर्षको राजनीतिक यात्रालाई स्पष्ट रूपमा चित्रण गर्छ। बारम्बार सरकारमा पुगेका यी दलहरूले देशको शासन, नीति निर्माण र राजनीतिक स्थायित्वमा कस्तो भूमिका खेले भन्ने विषयमा पुनः बहस सुरु हुने देखिन्छ।