कैलालीमा विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ
कैलाली: जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ छुट्टाछुट्टै स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला कैलाली टिकापुर नगरपालिका–९ खक्रौलाबाट ६१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित लम्कीचुहा नगरपालिका–३ बलचौर बस्ने २० वर्षीय राहुल बादी र २१ वर्षीय नृप बादी पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ८६० ट्याब्लेट ट्रामिनो ९त्च्ब्ःक्ष्ल्इ० नामक नियन्त्रित लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक बस्ने २७ वर्षीय धनी बादी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट संयुक्त रूपमा खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथबाट उक्त नियन्त्रित औषधि फेला पारेको हो।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।