सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भारतबाट ल्याइएका अवैध कुखुरा स्थानीयको सक्रियतामा नियन्त्रण गरि नष्ट

२०८२ माघ २८, ०४:५८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा स्थानीय किसानहरूले नियन्त्रणमा लिएर नष्ट गरेका छन्।

पुनर्वास र बेलौरी क्षेत्र हुँदै करिब तीन क्विन्टल अवैध बोइलर कुखुरा नेपाल ल्याउँदै गर्दा नेपाली नम्बर प्लेटका दुई वटा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शुक्लाफाँटा–कृष्णपुर–लालझाडी कुखुरा, अण्डा तथा माछा व्यवसायी संघ उपसमितिका अध्यक्ष हर्कबहादुर बमले जानकारी दिए।

उनका अनुसार लामो समयदेखि अवैध रूपमा कुखुरा ओसारपोसार भइरहेको सूचना आएपछि प्रशासनलाई जानकारी गराइए पनि चासो नदेखाइएको भन्दै स्थानीय किसानहरू आफैँ सक्रिय भएर अनुगमन गरेका थिए। सोही क्रममा बुधबार बिहान करिब तीन बजेतिर अवैध कुखुरा बोकेको समूहलाई रंगेहात नियन्त्रणमा लिन सफल भएको उनले बताए।

नियन्त्रणमा लिइएका अवैध कुखुराहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा नष्ट गरिएको बमले जानकारी दिए।

पक्राउ परेका दुई मोटरसाइकलमध्ये एकका चालक फरार भएका छन् भने एक जनालाई नियन्त्रणमा लिइएको छ। यद्यपि पक्राउ परेका व्यक्ति र मोटरसाइकलको विस्तृत विवरण हालसम्म प्रहरीसमक्ष नपुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस