धनगढीमा बाजेको सेकुवाको २६औँ शाखा सञ्चालनमा
कैलाली: करिब ४८ वर्षअघि सानो व्यवसायका रूपमा सुरु भएको चर्चित नेपाली ब्रान्ड ‘बाजेको सेकुवा’ले धनगढीमा आफ्नो २६औँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको औपचारिक उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझालगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले बाजेको सेकुवालाई स्वदेशी स्वाद र उद्यमशीलताको सफल उदाहरणका रूपमा उल्लेख गर्दै यसले स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरे। यस्ता स्वदेशी ब्रान्डहरूले धनगढीको व्यावसायिक पहिचानलाई सुदृढ बनाउनुका साथै रोजगारी सिर्जना र नेपाली मौलिक स्वादको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
चार दशकभन्दा लामो यात्रामा बाजेको सेकुवाले हाल करिब ७५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाएको छ। परम्परागत मसला र विशिष्ट स्वादका कारण यो ब्रान्ड उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ।
नयाँ शाखा सञ्चालनमा आएसँगै धनगढीका स्वाद पारखीहरूले अब आफ्नै सहरमा चर्चित सेकुवाको स्वाद लिन सक्ने भएका छन्। उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।