सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर, हेलिकोप्टरमार्फत मतपेटीका ढुवानी गरिने

२०८२ माघ २८, ११:४५ खबर संवाददाता

बाजुराः बाजुरा जिल्लाका १० मतदान स्थल अझै यातायात सुविधाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ। जिल्लामा रहेका ७७ मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गममध्ये एक मानिएको छ।

हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल बढुवालका अनुसार उक्त क्षेत्रमा हालसम्म न विद्युत् सुविधा पुगेको छ न सडक यातायातको व्यवस्था छ। यहाँ करिब ७० देखि ७६ जना मतदाता रहेका छन्। ती मतदाताका लागि हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तोकिएको छ।

गत वर्षजस्तै यस वर्ष पनि सो केन्द्रमा हेलिकोप्टरमार्फत मतपत्र तथा मतपेटीका ढुवानी गर्ने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई तथा गौमुल, जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक/एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन्। हिमाली–३ स्थित रिमाल भक्ति आधारभूत विद्यालय गुम्बा क्षेत्र अत्यन्त टाढा रहेको मतदान स्थल हो, जहाँ पुग्न चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ।

ती केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन्। हिमाली र गौमुलका दुर्गम केन्द्रमा हेलिकोप्टरमार्फत मतपेटीका ढुवानी गरिनेछ भने अन्य स्थानमा सडक पुग्ने नजिकसम्म कडा सुरक्षासहित पैदल बोकाएर मतपेटीका पुर्‍याई त्यसपछि सवारीमार्फत सदरमुकाम मार्तडी ल्याइने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस