सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साइपालमा निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदाको माग

२०८२ माघ २७, ११:४७ खबर संवाददाता

धनगढीः  फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन्।

निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ। उनीहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि पठाएका छन्।

‘प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो। त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो।’

ज्ञापनपत्रमा फागुन १८ मा पहाडी क्षेत्रमा होली र १९ गते तराई क्षेत्रमा होली परेकाले यी दुवै दिन देशैभर बिदा दिनुपर्ने माग छ। यस्तै, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार भएका हुँदा आफ्नो गन्तव्यमा फर्कनका लागि समय दिइनुपर्ने माग गरिएको छ। २३ गते शनिबार पर्छ।

अरू सबै सार्वजनिक बिदा नै परेको हुँदा फागुन २० र २२ लाई सरकारले निर्णय गरी बिदा दिनुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको साइपालका युवा साजन बोहरा बताउँछन्। यसरी ५ दिनसम्म बिदा दिइएमा कामको लागि घरबाहिर रहेकाहरूले मतदान गर्न पाउने बोहरा बताउँछन्।

बोहराले नेपालको भौगोलिक बनावट, यातायातको अवस्था, रोजगारीको स्वरूप र देशभरका विविध पेशारउद्योगलाई ध्यानमा राख्दै सरकारले यो निर्णय गर्न आवश्यक रहेको बताए।

‘विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल मतदानको वातावरण बनाउन नसकिएपनि देशभित्रै रहेकालाई त मतदान गर्ने वातावरण बनाइदिनुपर्‍यो’, बोहराले भने, ‘यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ।’

कमेन्ट लोड गर्नुस