कञ्चनपुर र डडेल्धुराबाट भन्सार छलि ल्याइएका अवैध सामान बरामद
धनगढी: कञ्चनपुर र डडेल्धुरा जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका उपभोग्य सामग्री प्रहरीले बरामद गरेको छ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३, जोनापुर तथा लालझाडी गाउँपालिका–१, बिनाबारी क्षेत्रबाट अन्दाजी मूल्य रु ३१ हजार ७ सय ८५ बराबरका पेय पदार्थ, बिडी लगायतका सामान सोमबार बेवारिसे अवस्थामा फेला पारिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामग्री नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै, डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१२, द्वारिका क्षेत्रबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी मूल्य रु १८ हजार बराबरको जिरा सोमबार दिउँसो बेवारिसे अवस्थामा फेला पारिएको छ। इलाका प्रहरी कार्यालय जोगबुढा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त जिरा बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।