सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियामा कार घर भित्र पस्दा सुतिरहेकी नेपाली महिलाको मृत्यु

२०८२ माघ २६, ०२:३१ खबर संवाददाता

काठमाडौं: अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र छिर्दा सुतिरहेकी एक नेपाली महिलाको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा ५३ वर्षीया विष्णुकुमारी गुरुङ रहेकी छन्, जसलाई ‘हिमाली’ नामले पनि चिनिन्थ्यो।

परिवारका अनुसार गुरुङ तीन दिनअघि मात्र नेपालबाट अस्ट्रेलियाको पर्थ पुगेकी थिइन्। शुक्रबार राति रिभरभेलस्थित छोरीको घरको युनिटमा सुतिरहेको बेला राति करिब ११स्४० बजे सडक छाडेर आएको कार घरमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

पुलिसका अनुसार पहेँलो रंगको फोर्ड फल्कन सेडान एलेक्जान्डर रोड हुँदै गुडिरहेको बेला अनियन्त्रित भई घरभित्र पसेको थियो। दुर्घटनामा गुरुङको तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ।

आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनकी छोरी निशा गुरुङले आफू अझै घटनाको त्रासदीपूर्ण सम्झनासँग जुधिरहेको बताइन्। “उहाँ सुरक्षित ठाउँमा ओछ्यानमा सुतिरहेकी थिइन्। हामीसँग समय बिताउन र सम्झना बनाउन यहाँ आएकी थिइन्,” उनले भनिन्। निशाका अनुसार उनकी आमा मंगलबार मात्र पर्थ आइपुगेकी थिइन् र नातिसँग समय बिताउने चाहना राखेकी थिइन्। उनले घटनामा न्यायको अपेक्षा पनि व्यक्त गरिन्।

परिवारले अन्त्येष्टि खर्च र नेपालबाट आफन्त ल्याउन सहयोग जुटाउने उद्देश्यले अनलाइनमार्फत चन्दा संकलन सुरु गरेको छ। चन्दासँगै सार्वजनिक सन्देशमा गुरुङलाई जीवन्त, दयालु, आत्मीय र निःस्वार्थ महिला भएको उल्लेख गरिएको छ।

यस घटनामा संलग्न आरोपमा ३६ वर्षीय राइस हकिङ्सलाई प्रहरीले ‘म्यानस्लाटर’ (हत्या सरहको अपराध) र सम्पत्ति क्षतिको अभियोगमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ। उनलाई आइतबार अदालतमा पेश गरिएको र फेब्रुअरी १८ मा पुनः अदालतमा उपस्थित गराइने जनाइएको छ।

छिमेकी अली कुरिम्भोईले ठोक्किने आवाज “विमान छतमा खसेजस्तो” लागेको बताए। उनका अनुसार ठूलो आवाजपछि तत्कालै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेका थिए।

पर्थ क्षेत्रमा घरमा कार ठोक्किने घटना पहिले पनि भएका भए तापनि, घरभित्र रहेका व्यक्तिको मृत्यु हुने घटना भने दुर्लभ मानिन्छ। यसअघि सन् २०११ मा मदिरा सेवन गरेर गाडी चलाएको एक किशोरले घरमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको घटना भएको थियो।

कमेन्ट लोड गर्नुस