सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङबाट ७० ओटा भेडा मरे

२०७६ भदौ १, ०६:४५ खबर संवाददाता

शुक्रबार राति म्याग्दीको एक भेडीगोठमा चट्याङ पर्दा ७० ओटा भेडा मरेका छन्। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५, पाउद्वारको खयरलेक क्षेत्रमा रहेको भेडीगोठमा चट्याङ पर्दा ७० ओटा भेडा मरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरीका अनुसार चट्याङबाट स्थानीय राजेश तिलिजा, मिनबहादुर गुरुङ, दिलबहादुर शेरपुञ्जा, लालविर तिलिजा, तिलविर तिलिजा, यमबहादुर तिलिजा र कमल तिलिजाको संयुक्त लगानीमा रहेको भेडीगोठका ७० ओटा भेडा मरेका हुन्। 

चट्याङ लागेर घाइते भएका भेडाहरूको सङ्ख्या पनि धेरै हुन सक्ने अनुमान गरिएको छ। म्याग्दीमा भेडापालनको पकेट क्षेत्र मानिने खयर क्षेत्रमा स्थानीय युवाले एकल तथा सामूहिक लगानीमा भेडापालन गरेका छन्। एउटा भेडाको मूल्य न्यूनतम पाँच हजारदेखि २२ हजारसम्म पर्ने भेडापालक किसानहरु बताउँछन्।  

वर्षौंदेखि भेडापालन गरिरहेका पाउद्वारका भेडापालक किसानले जनैपूर्णिमा मेला, बडादशैँ, तिहारलगायत अन्य चाडपर्वमा सबैभन्दा बढी भेडा बिक्री गर्दै आइरहेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक तथा खयरबराह क्षेत्र, रघुगंगा गाउँपालिका, बेनी नगरपालिकाको गाजने, डडुवासहित उच्च हिमाली क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गर्ने गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस